एकैपटक १५ जनासँग संवाद गर्ने एआई सेवा काठमाडौंमा सुरु

3.5k Shares

काठमाडौं महानगरपालिकाले संवादात्मक कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित नयाँ कल सेन्टर सेवा सुरु गरेको छ । महानगरको वडा नम्बर १७ ले ‘स्मार्ट वडा’ अवधारणाअन्तर्गत यो सेवा सञ्चालनमा ल्याएको हो ।

महानगरका अनुसार ०१–५९७१९८९ नम्बरमा फोन गर्दा एआई प्रणालीले सेवाग्राहीसँग संवाद गर्छ । वडासम्बन्धी सूचना, सिफारिस, सेवा प्रक्रिया तथा आवश्यक कागजातबारे जानकारी फोनबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

एआईसँग आवश्यक उत्तर उपलब्ध भए तुरुन्तै जानकारी दिनेछ भने उत्तर दिन नसकेमा सम्बन्धित वडा कर्मचारीसँग कल ट्रान्सफर गर्ने सुविधा पनि राखिएको छ । प्रणालीमार्फत एकैपटक १५ जनासम्मले सेवा लिन सक्ने जनाइएको छ ।

वडा अध्यक्ष नवीन मानन्धरका अनुसार सेवा प्रवाहलाई सहज, छिटो र ‘सर्भिस डेलिभरी टु होम’ अवधारणाअनुसार अघि बढाउन एआई प्रणाली सञ्चालनमा ल्याइएको हो । नागरिकता सिफारिसलगायत सेवाका लागि आवश्यक कागजातबारे सेवाग्राहीले पहिले नै जानकारी पाउने भएकाले अनावश्यक रूपमा वडा धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ ।

प्रणालीमार्फत पठाइएका सूचना कसले पढ्यो वा सुनेको छ भन्ने विवरणसमेत विश्लेषण गर्न सकिने तथा गुनासो व्यवस्थापनलाई पनि प्रभावकारी बनाउने महानगरको दाबी छ ।

सम्बन्धित समाचार