सर्वोच्चको अन्तरिम आदेशपछि सीमाबाट सामान ल्याउन तत्काल रोक नहुने

3.6k Shares

काठमाडौं । सर्वोच्च अदालतले सीमावर्ती क्षेत्रमा १०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार उठाउने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सरकारले लागू गर्न खोजेको उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाधीश हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले दैनिक उपभोगका सामग्री, खाद्यान्न तथा विवाह–नाताका सामग्री ल्याउँदा अनावश्यक अवरोध नगर्न सरकारका नाममा आदेश दिएको छ ।

यसअघि सरकारले राजपत्रमार्फत स्थलमार्गबाट सीमा ओहोरदोहोर गर्ने व्यक्तिले १०० रुपैयाँभन्दा बढी मूल्यका सामग्री ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था लागू गर्न खोजेको थियो । पछिल्लो समय सीमा क्षेत्रमा कडाइ गरिएपछि स्थानीयवासी र व्यवसायीले विरोध जनाउँदै आएका थिए ।

अधिवक्ताहरू आमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह र प्रशान्त विक्रम शाहले उक्त व्यवस्था बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सीमावर्ती क्षेत्रका नागरिकमाथि आर्थिक बोझ थोपरिएको र दैनिक जीवन प्रभावित भएको जिकिर गरिएको थियो ।

अन्तरिम आदेशसँगै अब तरकारी, औषधि, लत्ताकपडा तथा विवाह–नाताका सामग्री सीमापारिबाट ल्याउन तत्कालका लागि सहज हुने भएको छ । सर्वोच्चको आदेशपछि सीमा क्षेत्रमा देखिएको अन्योल केही समयका लागि हट्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार