‘फ्री भिसा फ्री टिकट’को नाममा ३ लाख असुल्न खोज्ने एजेन्ट पक्राउ

1.5k Shares

काठमाडौं । वैदेशिक रोजगारीका नाममा ‘फ्री भिसा फ्री टिकट’ नीतिविपरीत लाखौं रुपैयाँ असुल्न खोज्ने एक म्यानपावर एजेन्ट पक्राउ परेका छन् । श्रम मन्त्रालयको सचिवालयले नै ‘स्टिङ अपरेसन’ सञ्चालन गरेर उनलाई पक्राउ गराएको हो ।

मलेसियामा सेक्युरिटी गार्डको काममा जान लागेका सप्तरीका अजयकुमार यादवसँग कोटेश्वरस्थित ‘ग्रान्ड स्वीट जब’ नामक म्यानपावर कम्पनीले ३ लाख रुपैयाँ मागेको थियो । सरकारले ‘फ्री भिसा फ्री टिकट’ नीति अन्तर्गत अधिकतम १० हजार रुपैयाँ मात्र लिन पाउने व्यवस्था गरे पनि कम्पनीले ठूलो रकम मागेपछि यादव समस्यामा परेका थिए ।

पीडित यादवले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए । तर बाँकी २ लाख २० हजार रुपैयाँ नदिएसम्म राहदानी, श्रम स्वीकृति र हवाई टिकट नदिने भन्दै म्यानपावरले दबाब दिएको थियो । त्यसपछि उनले श्रममन्त्री रामजी यादवको सचिवालयमा गुनासो गरेका थिए ।

श्रममन्त्रीका स्वकीय उपसचिव सरोज यादवसहितको टोली र प्रहरी तीनकुनेस्थित गैरीगाउँ पुगेका थिए । त्यहाँ म्यानपावर कम्पनीका कर्मचारीले पैसा माग्दै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिले ‘फ्री भिसा फ्री टिकट’ भएको देशमा ३ लाख रुपैयाँ मागेको स्वीकार गरेपछि थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ ।

प्रहरीले ती एजेन्टको साथबाट चारवटा राहदानी, फ्लाइट टिकट र अन्य कागजातसमेत बरामद गरेको जनाएको छ । अन्य कामदारसँग पनि रकम असुलेर कागजात दिने तयारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको सक्रियतापछि अजयकुमार यादवको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट फिर्ता गरिएको छ । उनी अब आइतबार मलेसिया जान पाउने भएका छन् ।

पीडित यादवले गरिब नेपाली कामदारमाथि भइरहेको यस्तो ठगी रोक्न कडा कारबाही आवश्यक रहेको बताएका छन् । श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा कुनै समस्या परे सिधै मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार