सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिस विरुद्धको रिट दर्ता गर्न आदेश

2.2k Shares

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन दर्ता गर्न सोमबार आदेश दिएकी छन्। उनले सोमबार दिउँसो १ बजेसम्म सबै निवेदन दर्ता गरी मंगलबार (जेठ ५ गते) पेशीमा चढाउन निर्देशन दिएकी हुन् ।

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा लाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध दायर गरिएका रिटहरू दरपीठ गरिएको विषयमा नयाँ मोड आएको हो। उक्त दरपीठविरुद्ध परेको निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीशको सचिवालयले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको थियो। त्यसपछि निवेदन दर्ता भएका हुन् । अब ती दरपीठ सदर गर्ने वा खारेज गरेर रिट दर्ता गर्न आदेश दिने भन्ने विषयमा मंगलबार इजलासमा सुनुवाइ हुने भएको छ ।

गत वैशाख २५ गते संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। वरिष्ठता र स्थापित परम्पराविपरीत सिफारिस गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाल लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर सर्वोच्च प्रशासनले ती रिट दरपीठ गरेको थियो ।

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४०(१)(ग) अनुसार रिट दरपीठ भएपछि अधिवक्ता डा. सिलवाल दरपीठविरुद्ध निवेदन लिएर सर्वोच्च पुगेका थिए । वैशाख २८ गते शाखामा निवेदन पेश गरिए पनि दर्ता भएको थिएन ।

यस विषयमा नेपाल बार एशोसिएशन ले पनि सर्वोच्च प्रशासनको भूमिकाप्रति आपत्ति जनाएको थियो । सर्वोच्चका रजिष्ट्रार मानबहादुर कार्की ले ‘सल्लाह गरेर दर्ता गर्ने’ भन्दै प्रक्रिया अघि नबढाएको आरोप लागेको थियो । त्यसपछि अधिवक्ता सिलवालले कामु प्रधानन्यायाधीश मल्लको सचिवालयमा निवेदन दिएका थिए । संविधानको धारा १२८(२) र धारा १३६ अनुसार अधिकार प्रयोग गरी निवेदन दिएपछि सचिवालयले निवेदन दर्ता गर्न आदेश दिएको हो ।

सम्बन्धित समाचार