कारागारबाट फरार सपना तामाङ ठमेलबाट समातिइन्

2.2k Shares

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएकी कैदी सपना तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति ठमेलबाट पक्राउ गरेको हो ।

नुवाकोटको विदुर नगरपालिका–१३ निवासी २५ वर्षीया सपना शुक्रबार राति कारागारको पर्खाल नाघेर फरार भएकी थिइन् । सीसीक्यामेरामा उनले अग्ला वस्तु राखेर पर्खाल चढेको दृश्य देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सपनासँगै भोजपुर घर भएका २६ वर्षीय समीर श्रेष्ठलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार सपना र समीर प्रेम सम्बन्धमा थिए । जेलबाट भागेपछि सपना समीरको असनस्थित कोठामा लुकेर बसेकी थिइन् । फरार कैदीलाई लुकाएर राखेको आरोपमा समीरमाथि अनुसन्धान भइरहेको छ ।

अनुसन्धानका क्रममा समीर आफ्नी आमालाई भेट्न कारागार जाँदा सपना र उनीबीच चिनजान भएको खुलेको छ । त्यसपछि उनीहरूबीच प्रेम सम्बन्ध विकसित भएको प्रहरी स्रोतले जनाएको छ ।

सपना तामाङ डाँका चोरी, अपहरण र हत्या मुद्दामा जन्मकैद सजाय भोगिरहेकी कैदी हुन् । उनले २०७७ सालमा रसुवाकी ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या गरेको अभियोगमा अदालतबाट जन्मकैद सजाय पाएकी थिइन् । यसअघि पनि जेनजी आन्दोलनको समयमा उनी कारागारबाट फरार भएकी थिइन् ।

 
 
 
सम्बन्धित समाचार