समस्याग्रस्त सहकारीबाट बचत फिर्ता अभियान सुरु

1.6k Shares

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता दिन सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार पहिलो चरणमा तीन वटा सहकारीका ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको हो।

समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारीका ७ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्। पहिलो दिन न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखिएको र अब क्रमशः बचत रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने समितिले जनाएको छ।

हाल समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको बताइएको छ। पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई ‘साना बचतकर्ता’ र सोभन्दा बढी बचत भएका व्यक्तिलाई ‘ठूला बचतकर्ता’का रूपमा वर्गीकरण गरिएको छ। कुल बचतकर्तामध्ये करिब १८ हजार जना पाँच लाखभन्दा बढी बचत गर्ने रहेको समितिको भनाइ छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारीबाट गएको रकम फिर्ता गराउन ऋण असुली प्रक्रिया पनि तीव्र बनाइएको बताइन्। समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरिएपछि ऋण तिर्न आउने क्रम बढेको उनले उल्लेख गरिन्।

समितिका अनुसार हालसम्म समस्याग्रस्त सहकारीका ऋणीबाट २ करोड रुपैयाँभन्दा बढी असुली भइसकेको छ। अब ऋण असुली र बचत फिर्ता प्रक्रिया सँगसँगै अघि बढाइने जनाइएको छ।

 
 
 
सम्बन्धित समाचार