काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक विपक्षी दलहरूको अवरोधका कारण तनावग्रस्त बनेको छ । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलका सांसदहरूले बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका हुन् ।
सभामुख डोलप्रसाद अर्याल ले बैठकको कारबाही अघि बढाउने क्रममा प्रधानमन्त्री तथा गृह र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन शाह को तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम लाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए ।
तर मन्त्री गौतम बोल्न सुरु गर्नुअघि नै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए । उनीहरूले सरकारले संसद्लाई बेवास्ता गरेको, जनसरोकारका विषयमा जवाफदेहिता नदेखाएको तथा प्रमुख मुद्दाहरूमा स्पष्ट धारणा सार्वजनिक नगरेको आरोप लगाएका छन् ।
विपक्षी सांसदहरूको नाराबाजी र अवरोधपछि केही समय बैठकको वातावरण तनावपूर्ण बनेको थियो । त्यसपछि सभामुख अर्यालले विपक्षी दलहरूलाई आफ्नो धारणा राख्न समय दिएका थिए ।
विपक्षी दलका नेताहरूले सरकार संसद्प्रति उत्तरदायी बन्नुपर्ने, संवेदनशील राष्ट्रिय विषयमा स्पष्ट जवाफ दिनुपर्ने तथा संसद्को मर्यादा कायम राख्न सत्ता पक्ष गम्भीर हुनुपर्ने बताएका थिए । उनीहरूले आफ्नो माग सम्बोधन नभएसम्म विरोध जारी रहने चेतावनी समेत दिएका छन् ।
यता सत्ता पक्षका सांसदहरूले भने संसद्को नियमित कार्यसूची अवरुद्ध गर्नु उपयुक्त नभएको बताएका छन् । उनीहरूले लोकतान्त्रिक प्रक्रियाअनुसार छलफलमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखेका छन् ।
लगातारको अवरोधका कारण बैठकको कार्यसूची प्रभावित भएको छ भने प्रस्तुत हुन लागेको विधेयकमाथिको प्रक्रिया पनि अन्योलमा परेको छ । संसद् बैठक सुचारु गर्न सभामुखले दलहरूबीच सहमतिको प्रयास जारी राखेका छन् ।