काठमाडौं । सरकारी कर्मचारीको तलब वृद्धि गर्ने तयारी भएको छ। आगामी आर्थिक वर्षको बजेटका लागि न्यूनतम तलब ३५ हजार र अधिकतम तलब एक लाख २१ हजार पुर्याउन सिफारिस गरिएको हो।
सूत्रका अनुसार वित्त मन्त्रालय अन्तर्गत बनेको तलब–सुविधा पुनरावलोकन समितिले तलब समायोजनको प्रस्ताव सरकारलाई बुझाएको छ। हाल बढ्दो महँगी, जीवनयापन खर्च र कर्मचारीको मनोबललाई ध्यानमा राख्दै तलब वृद्धि आवश्यक ठहर गरिएको बताइएको छ।
प्रस्तावअनुसार सबै तहका कर्मचारीको तलब क्रमशः बढाइनेछ। तल्लो तहका कर्मचारीलाई बढी राहत पुग्ने गरी संरचना बनाइएको छ भने उच्च तहका कर्मचारीको तलब पनि समायोजन गरिने उल्लेख छ।
सरकारले यो सिफारिसलाई आगामी बजेटमार्फत कार्यान्वयन गर्ने तयारी गरेको छ। अन्तिम निर्णय भने बजेट प्रस्तुत हुँदा स्पष्ट हुने बताइएको छ।