इरानसँग सम्झौता टुंगिनै लाग्यो : ट्रम्प

1k Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। उनले सम्झौता धेरै हदसम्म टुंगिसकेको भन्दै निकट भविष्यमा औपचारिक रूपमा घोषणा हुन सक्ने संकेत दिएका छन्।

ट्रम्पका अनुसार प्रस्तावित सम्झौतामा मध्यपूर्वको अत्यन्त संवेदनशील सामुद्रिक मार्ग होर्मुज स्ट्रेट पुनः सञ्चालनमा ल्याउने व्यवस्था समावेश गरिएको छ। यो मार्ग विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक हो, जसबाट विश्व ऊर्जा आपूर्तिको ठूलो हिस्सा प्रभावित हुन्छ।

स्रोतहरूका अनुसार सम्झौतामा युद्धविराम विस्तार, समुद्री मार्गमा निर्बाध आवागमन, केही आर्थिक प्रतिबन्धहरू हटाउने, तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने विषयहरू समावेश हुन सक्ने बताइएको छ।

तर, इरानी पक्षले ट्रम्पको दाबीलाई पूर्ण रूपमा स्वीकार गरेको छैन। तेहरानले होर्मुज स्ट्रेटमाथि आफ्नो नियन्त्रण कायम रहने र सम्झौता अझै अन्तिम रूपमा टुंगिन बाँकी रहेको जनाएको छ। इरानले प्रतिबन्ध हटाउने र आर्थिक क्षतिपूर्ति लगायतका मागहरू पनि अघि सारेको बताइएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पाकिस्तान लगायतका क्षेत्रीय मध्यस्थकर्तामार्फत वार्ता अगाडि बढिरहेको जनाएका छन्। वार्तामा प्रगति देखिए पनि अझै केही महत्वपूर्ण विषयमा सहमति हुन बाँकी रहेको बताइन्छ।

सम्बन्धित समाचार