वन्यजन्तु जोगाउन खगेरी नहरबाट पानी, पोखरी पुनर्भरण सुरु
1.1k
Shares
चितवन । गर्मी बढेसँगै पानीको अभाव हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्ज र बरण्डाभार क्षेत्रका वन्यजन्तुका लागि नहरमार्फत पानीको व्यवस्था गर्न थालिएको छ। निकुञ्जभित्रका तालतलैया र पोखरीहरू सुक्न थालेपछि खगेरी नहरबाट पानी छोडिएको हो।
टिकौलीदेखि देवनगरसम्म फैलिएको करिब नौ किलोमिटर लामो नहरमा पानी प्रवाह गरिएको छ। यसबाट निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरू पुनर्भरण (रिचार्ज) गर्नसमेत पानी उपलब्ध गराइएको छ, जसले वन्यजन्तुलाई प्रत्यक्ष रूपमा पानीको सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ।
नारायणी लिफ्ट तथा खगेरी सिँचाइ आयोजनाका प्रमुख कुलप्रसाद चालिसेका अनुसार सो क्षेत्रमा रहेका १२ वटाभन्दा बढी पोखरी पुनर्भरणका लागि पानी छोडिएको छ। उनले गर्मी यामभरि आवश्यकताअनुसार निरन्तर पानी छोड्ने व्यवस्था मिलाइएको जानकारी दिए।
गर्मी बढ्दै जाँदा निकुञ्ज र बरण्डाभार क्षेत्रका प्राकृतिक जलाशयहरू सुक्ने समस्या हरेक वर्ष दोहोरिने गरेको छ। पानीको अभाव हुँदा वन्यजन्तु पानी खोज्दै मानव बस्ती नजिक पुग्ने र त्यसबाट मानव–वन्यजन्तु द्वन्द्व बढ्ने जोखिम रहने गर्दछ। यही जोखिम न्यूनीकरण गर्न हरेक वर्ष गर्मी सुरु हुनुअघि नहर मर्मत गरी पानी छोड्ने गरिएको आयोजनाले जनाएको छ।
बरण्डाभार र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र गैँडा, चित्तल, बाघ, भालु लगायतका वन्यजन्तुका साथै विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको महत्वपूर्ण वासस्थान हो। नहरमार्फत पानीको व्यवस्थाले वन्यजन्तुको संरक्षण, जैविक विविधताको जगेर्ना र स्थानीय बासिन्दाको सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।