सरकारको बजेट २१ खर्ब नाघ्ने अनुमान, किन बढ्दैछ सीमा?
1.8k
Shares
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट २१ खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले सुरुमा तोकेको सीमाभन्दा ठूलो आकारको बजेट ल्याउने तयारी भएपछि बजेटको आकार बढ्ने संकेत देखिएको हो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्ट नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले सुरुमा १८ खर्ब ९० अर्ब रुपैयाँको सीमा तोकेको थियो। तर पछिल्ला छलफलपछि उक्त सीमा पुनरावलोकन गरी २१ खर्बभन्दा माथि पुर्याइएको स्रोतहरूले बताएका छन्।
सरकारले कर संकलन वृद्धि, राजस्व चुहावट नियन्त्रण र वैदेशिक सहायता बढ्ने अपेक्षासहित ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ। त्यसअनुसार स्रोत समितिसँग भएको छलफलपछि बजेट सीमामा पुनरावलोकन गरिएको हो।
तर पछिल्ला दिनमा राजस्व संकलनमा आएको संकुचन, वैदेशिक सहायता घट्दो अवस्था र भूराजनीतिक दबाबका कारण स्रोत सीमित बन्दै गएको छ। यसले बजेट विस्तारमा चुनौती थपिएको छ।
त्यसका बाबजुद सरकारले करको दायरा विस्तार गर्ने, सुशासनमार्फत चुहावट नियन्त्रण गर्ने र आर्थिक गतिविधि बढाउने योजनासहित राजस्व बढ्ने विश्वास व्यक्त गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को नीति प्राथमिकता र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा सरकारले ठूलो परियोजना, रोजगारी सिर्जना र आर्थिक विस्तारलाई केन्द्रमा राख्दै बजेटको आकार बढाउन लागेको बताइएको छ।
सरकारी अधिकारीहरूका अनुसार युवा पुस्ताको रोजगारी र विकासका अपेक्षालाई सम्बोधन गर्न पनि ठूलो आकारको बजेट आवश्यक देखिएको छ।
यसैबीच, प्रस्तावित बजेट चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा झण्डै साढे ४ खर्ब रुपैयाँ बढी हुने देखिन्छ।