संविधान र गणतन्त्र सुदृढ बनाउन सबै जिम्मेवार बन्नुपर्छ : गगन थापा
1.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उहाँले जनआन्दोलनका क्रममा असङ्ख्य नेपालीले लोकतन्त्र प्राप्तिका लागि गरेको बलिदानलाई स्मरण गर्दै ज्ञात–अज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्नुभएको हो ।
थापाले जनआन्दोलन २०६२/६३ को सफलतापछि तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभा निर्वाचन सम्पन्न गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार संविधानसभाको पहिलो बैठकबाट वि.सं. २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्र अन्त्य गरिएको ऐतिहासिक दिनका रूपमा गणतन्त्र दिवस मनाइँदै आएको छ ।
उहाँले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणमार्फत मात्रै मुलुकलाई समृद्ध र विकसित राष्ट्र बनाउन सकिने धारणा राख्नुभयो । साथै लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृतिमा आधारित न्यायपूर्ण समाज निर्माणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
थापाले गणतन्त्र दिवसले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने तथा समतामूलक समाज निर्माणको साझा यात्रामा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
अन्त्यमा उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।