लैङ्गिक समानता र सहभागिता नै समृद्धिको आधार : राष्ट्रपति पौडेल

1.4k Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्दै समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताएका छन्।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले घर, समाज, कार्यस्थल र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्द्धन गर्न राज्य र नागरिक समाजबीच सहकार्य अझ सुदृढ हुनुपर्ने आवश्यकता रहेको बताए।

उनले महिलाको हकअधिकार सुनिश्चित गर्न योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै महिलाको श्रम, सीप र सिर्जनशीलतालाई विकास प्रक्रियाको मूलधारमा ल्याउनुपर्नेमा जोड दिए।

राष्ट्रपतिका अनुसार शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला र उद्यमका क्षेत्रमा नेपाली महिलाले उल्लेखनीय सफलता हासिल गरिरहेका छन्। त्यसैले स्रोत, साधन र अवसरमा समान पहुँच तथा निर्णय प्रक्रियामा सहभागिता विस्तार गर्नु आवश्यक रहेको उनको भनाइ छ।

विसं २०६३ जेठ १६ गते तत्कालीन प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी चार विशेष प्रस्ताव पारित गरेको दिनको स्मरणमा हरेक वर्ष जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै आएको हो।

राष्ट्रपति पौडेलले यस दिवसले लैङ्गिक समानता र सामाजिक रूपान्तरणका लागि थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार