सुकुमवासी समस्या समाधान हुन्छ, तर समय लाग्छ: प्रधानमन्त्री

1.3k Shares

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौं उपत्यकाका सुकुमवासीको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सुकुमवासी व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे।

प्रधानमन्त्री शाहका अनुसार वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूलाई सुरक्षित स्थानमा राख्ने र आवश्यक आवास तथा जग्गा व्यवस्थापन गर्ने योजना अघि बढाइएको छ। उनले पहिले स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राख्ने र त्यसपछि उचित व्यवस्थापन गर्ने प्रक्रिया अपनाइने बताए।

उनले भने, “जो सहि सुकुमवासी हुनुहुन्छ, जसको देशैभरी जग्गा छैन, उहाँहरूको लागि सरकारले जग्गा व्यवस्थापन गर्नुपर्छ।”

प्रधानमन्त्री शाहले सुकुमवासी समस्या एकैछिनमा समाधान नहुने भन्दै यसलाई दीर्घकालीन प्रक्रियाका रूपमा लिनुपर्ने बताए। “३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं,” भन्दै उनले धैर्य गर्न आग्रह गरे।

उनले उपत्यकामा विगतका वर्षहरूमा सुकुमवासी बस्तीहरू बाढी, डुबान, फोहोर तथा स्वास्थ्य जोखिममा परेको कारण तत्काल स्थानान्तरण आवश्यक भएको पनि उल्लेख गरे।

सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि समिति गठन गरिसकेको र सम्बन्धित मन्त्रालयमार्फत काम भइरहेको प्रधानमन्त्री शाहको भनाइ छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि चालु आर्थिक वर्षभित्र व्यवस्थापनको काम अघि बढाइने बताएका छन्।

प्रधानमन्त्रीले सरकारको उद्देश्य केवल हटाउने नभई सुरक्षित, व्यवस्थित र दीर्घकालीन समाधान दिने रहेको स्पष्ट पारे।

सम्बन्धित समाचार