नवलपरासी। प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे दिएको विवादित अभिव्यक्तिपछि नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेको छ ।
आइतबार साँझ करिब ४०–५० जनाको एसएसबी टोली सुस्ता गाउँपालिका–५ मा पुगेर नारायणी नदी किनारमा निर्माण भइरहेको तटबन्ध कार्य रोक्न दबाब दिएको स्थानीयले बताएका छन् ।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय ले भारतीय सुरक्षाकर्मीको दबाबपछि निर्माण कार्य रोकिएको पुष्टि गर्नुभयो । उहाँका अनुसार तटबन्ध निर्माण करिब ८० प्रतिशत पूरा भइसकेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको करिब १४ करोड रुपैयाँ लागतमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको थियो, जसको उद्देश्य सुस्तालाई नदी कटान र डुबानबाट जोगाउनु हो ।
स्थानीय “सुस्ता बचाउ अभियान” का प्रतिनिधि रवीन्द्र जैसवाल ले भारतीय सुरक्षाकर्मीले “विवादित क्षेत्रमा काम नगर्न” भन्दै निर्माण रोकेको बताएका छन् । उनले भारतसँग कूटनीतिक संवादमार्फत समस्या समाधान गर्नुपर्ने माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक नेपाल का अनुसार निर्माणस्थलभन्दा करिब ५० मिटर पूर्वतर्फ नेपालकै भूमिमा नयाँ ठेक्काअन्तर्गत काम भइरहेको बेला भारतीय पक्षले आपत्ति जनाएको हो ।
उनका अनुसार घटनाबारे गृह मन्त्रालय, नापी कार्यालय र सिँचाइ कार्यालयलाई जानकारी गराइसकिएको छ र सोमबार भारतीय समकक्षीसँग छलफल गर्ने तयारी भइरहेको छ ।
सशस्त्र प्रहरीका एसपी गोविन्द खातीले भने यो घटना नियमित सीमा अनुगमनकै क्रममा भएको दाबी गर्दै थप अध्ययन भइरहेको बताएका छन् ।
सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारत सीमा विवादको केन्द्रमा रहँदै आएको छ । स्थानीयका अनुसार नदी कटान र सीमास्तम्भको अभावका कारण सुस्ताको भूभाग क्रमशः खुम्चिँदै गएको छ ।
स्थानीयहरूका अनुसार ऐतिहासिक रूपमा हजारौँ हेक्टर क्षेत्रफल रहेको सुस्ता अहिले उल्लेख्य रूपमा घटिसकेको छ । २०२२ सालदेखि राज्यले यहाँ सुरक्षाकर्मी र बस्ती बसोबास गराउँदै आएको छ ।
स्थानीय सरोकारवालाले भने सीमा विवादको समाधान ऐतिहासिक नक्सा, अभिलेख र कूटनीतिक संवादका आधारमा दीर्घकालीन रूपमा गर्नुपर्ने माग गरेका छन् ।
