काठमाडौँ । रवि लामिछाने आज पाँचदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत गएका हुन्।
रास्वपाका अनुसार भ्रमण जेठ १८ गतेदेखि २२ गतेसम्म रहनेछ। लामिछानेसँगै सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमण टोलीमा सहभागी छन्।
भ्रमणका क्रममा नयाँ दिल्ली मा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता हुने कार्यक्रम रहेको छ। उनले भाजपा नेतृत्वसँग छलफल गर्ने, भारतस्थित नेपाली समुदाय र शुभेच्छुकहरूसँग भेटघाट गर्ने तथा अयोध्या भ्रमण गर्ने कार्यसूची रहेको जनाइएको छ।
केही सञ्चारमाध्यमका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग समेत भेट हुन सक्ने सम्भावना रहेको बताइएको छ। यद्यपि यसबारे भारत वा रास्वपाले औपचारिक पुष्टि गरेका छैनन्।
फागुन २१ को निर्वाचनपछि रास्वपाले प्रतिनिधिसभामा ठूलो सफलता हासिल गरेपछि पार्टी प्रमुखको हैसियतमा लामिछानेको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री बालेन्द्र शाह को भारत भ्रमण अझै तय नभएको अवस्थामा लामिछानेको भ्रमण अघि बढेकाले यसलाई नेपाल–भारत सम्बन्धको सन्दर्भमा चासोका साथ हेरिएको छ।