काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव योगेश भट्टराईबीच संकेतात्मक रूपमा मतभिन्नता देखिएको छ। अध्यक्ष ओलीले तत्काल नेतृत्व नछाड्ने अडान दोहोर्याएपछि भट्टराईले एक लोककथामार्फत व्यंग्य गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालामा बोल्दै अध्यक्ष ओलीले कसैले भनेकै भरमा नेतृत्व नछाड्ने स्पष्ट पारे। पार्टीलाई पुरानै शक्ति र उचाइमा फर्काएपछि मात्रै आफू विश्राम लिने उनको भनाइ थियो।
ओलीले केही नेताहरू नेतृत्व परिवर्तन भए मात्रै पार्टी सुध्रिन्छ भन्ने मानसिकतामा रहेको टिप्पणी गर्दै त्यसलाई पार्टी हितविपरीत भएको बताए। “कतिपय नेताहरू शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने मानसिकतामा छन्,” उनले भने, “त्यस्तो सोचले पार्टी एकता सम्भव हुँदैन।”
उनले एमालेभित्र व्यापक एकताको आवश्यकता रहेको उल्लेख गर्दै त्यो एकता आफ्नै नेतृत्वमा सम्भव हुने दाबी गरे। एमाले ३६ वर्षदेखि जनताको बहुदलीय जनवादको सिद्धान्तमा एकताबद्ध रहेको भन्दै उनले नेता–कार्यकर्तालाई त्यसैअनुसार अघि बढ्न आग्रह गरे।
ओलीको अभिव्यक्तिपछि कार्यक्रममा सहभागी उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत एक लोककथा सुनाउँदै व्यंग्यात्मक प्रतिक्रिया जनाए। उनले एमालेको सातौँ राष्ट्रिय महाधिवेशनका क्रममा एक वरिष्ठ नेताले सुनाएको कथा स्मरण गराएका थिए।
कथामा एक वृद्ध यात्रुले बसभित्रको डन्डी समातेर दायाँ–बायाँ तानेको र गन्तव्यमा पुगेपछि आफूले बस पल्टिनबाट जोगाएको दाबी गरेको प्रसंग उल्लेख छ। भट्टराईले ओलीको भनाइ सुनेपछि आफूलाई त्यही कथा सम्झना आएको टिप्पणी गरेका छन्।
यता अध्यक्ष ओलीले आफू सहज परिस्थितिमा नेतृत्व लिन नआएको भन्दै चुनौतीपूर्ण अवस्थासँग जुधेर पार्टीलाई सफलतामा पुर्याएपछि मात्रै विधिसम्मत रूपमा विश्राम लिने बताएका छन्। “अप्ठ्यारो पर्दा झोला फ्याँकेर भाग्ने गरी म अध्यक्ष बनेको होइन,” उनले भने।
पछिल्लो समय एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस तीव्र भइरहेका बेला ओलीको अडान र भट्टराईको व्यंग्यात्मक प्रतिक्रियाले पार्टीभित्रको आन्तरिक बहसलाई थप चर्काएको छ।