जनकपुरधाम, जेठ २१ । जनकपुरधामको शहरी पूर्वाधार सुधारका लागि २ अर्ब १३ करोड रुपैयाँभन्दा बढी लागतको विकास परियोजना कार्यान्वयनमा जाने भएको छ। नेपाल सरकार, जनकपुरधाम उपमहानगरपालिका र एशियाली विकास बैंक (एडीबी) को सहकार्यमा सञ्चालन हुने योजनाले सडक, ढल निकास तथा सार्वजनिक संरचनाको स्तरोन्नतिमा जोड दिनेछ।
परियोजनाको पहिलो चरणअन्तर्गत करिब १ अर्ब ६५ करोड रुपैयाँ खर्चेर २३ दशमलव ९ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति, ९ दशमलव ६ किलोमिटर नाला निर्माण, खानेपानी पाइपलाइन व्यवस्थापन र विद्युत् संरचना स्थानान्तरणको काम गरिने तयारी गरिएको छ। निर्माण कार्यका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र प्रक्रिया सुरु भइसकेको जनाइएको छ।
वर्षायाममा हुने डुबान र जलनिकास समस्यालाई ध्यानमा राख्दै योजनामा आधुनिक ढल तथा निकास प्रणालीलाई विशेष प्राथमिकता दिइएको छ। यसबाट सडक जलमग्न हुने समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
उपमहानगरपालिकाका अनुसार परियोजनाको कुल लागतमा ७५ प्रतिशत संघीय सरकारको अनुदान, ८ प्रतिशत स्थानीय तहको लगानी तथा १७ प्रतिशत ऋण रहनेछ।
दोस्रो चरणमा जनकपुरधामका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका रत्नसागर, सामसागर, धनुषसागर र विसहरा पोखरीको संरक्षण तथा सौन्दर्यीकरण गरिनेछ। यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ।
शहरको भौतिक पूर्वाधार सुधारसँगै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। सडक, फुटपाथ, नाला र सार्वजनिक स्थलको स्तरोन्नतिले पर्यटक आकर्षण बढ्नुका साथै स्थानीय व्यापार, होटल व्यवसाय, यातायात तथा सेवा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
स्थानीय तहले यो योजनालाई जनकपुरधामको दीर्घकालीन विकास र आर्थिक गतिविधि विस्तारसँग जोडिएको महत्वपूर्ण परियोजनाका रूपमा लिएको छ। परियोजना सम्पन्न भएपछि शहरको स्वरूपमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ।