हिमालय एयरलाइन्सको काठमाडौं–सेन्जेन सिधा उडान सुरु

1.9k Shares

काठमाडौं । नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्स ले काठमाडौं र चीनको सेन्जेन बीच सिधा उडान सेवा सञ्चालनमा ल्याएको छ ।

एयरलाइन्सले बिहीबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल बीच सातामा दुई पटक सिधा उडान सुरु गरेको जनाएको छ ।

कम्पनीका अनुसार पहिलो उडान बिहीबार राति ९:५९ बजे ९८ यात्रुसहित काठमाडौंबाट प्रस्थान गरेको थियो। उक्त विमान चीनको स्थानीय समयअनुसार शुक्रबार बिहान ४:१७ बजे सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

त्यसपछि सोही विमान बिहान ६:१२ बजे १५७ यात्रुसहित सेन्जेनबाट काठमाडौंका लागि उडेको थियो र नेपाली समयअनुसार बिहान ८:२६ बजे काठमाडौं अवतरण गरेको एयरलाइन्सले जनाएको छ ।

हिमालय एयरलाइन्सका अनुसार काठमाडौंबाट सेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार नियमित उडान सञ्चालन हुनेछ। यस्तै, सेन्जेनबाट काठमाडौंका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार हुने तालिका तय गरिएको छ ।

नयाँ हवाई सेवाले नेपाल र चीनबीचको हवाई सम्पर्क विस्तार गर्नुका साथै पर्यटन, व्यापार तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

एयरलाइन्सले यस उडानमार्फत यात्रुहरूको आवागमन सहज हुने र दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

 
 
सम्बन्धित समाचार