कास्की । पृथ्वीचोकस्थित पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गाधनीहरू र पोखरा महानगरपालिकाबीच बसपार्क निर्माणसम्बन्धी लामो समयदेखिको विवाद समाधान भएको छ ।
दुवै पक्षबीच सहमति भएपछि बसपार्क निर्माण कार्यलाई अघि बढाउन आवश्यक सहयोग गर्ने समझदारी बनेको छ। सहमतिअनुसार भविष्यमा निर्माण हुने संरचनाहरू पोखरा महानगरपालिकाले तोकेको मापदण्डअनुसार निर्माण गरिनेछ।
महानगरपालिकाका अनुसार हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू आजैदेखि लागु हुनेगरी ७ दिनभित्र पूर्ण रूपमा हटाइनेछ। यस निर्णयसँगै बसपार्क निर्माण कार्यलाई सहज बनाउने वातावरण तयार भएको जनाइएको छ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले लामो समयदेखि रोकिँदै आएको सुविधा सम्पन्न बसपार्क निर्माणको मार्ग खुलेको बताएका छन्। उनले निर्माण कार्य अघि बढाउन सहयोग गर्ने जग्गाधनी, स्थानीयवासी तथा सरोकारवाला सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।
यो सहमतिपछि पोखराको प्रमुख यातायात केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको बसपार्क परियोजना अब अघि बढ्ने संकेत देखिएको छ।