म्याग्दी । म्याग्दी जिल्लामा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ। अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा सोमबारदेखि विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ निर्माणको काम अघि बढाइएको हो।
कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिद्वारा प्रवर्द्धन गरिएको यो आयोजनाले करिब चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। आयोजनाका अनुसार बाँध, गाडपार र घराप क्षेत्रमा विद्युत्गृह निर्माणस्थलबाट चार स्थानमा सुरुङ खन्ने काम सुरु गरिएको छ।
आयोजना निर्देशक रमण सिंहका अनुसार कुल ५.६ किलोमिटर लामो सुरुङ निर्माण गरिनेछ। विद्युत्गृह र बाँध निर्माणस्थलमा सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ।
मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामाको पहिरा थाप्लामा बाँध निर्माण र अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत्गृह निर्माण हुने योजना रहेको छ। ‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनामा करिब एक किलोमिटर पेनस्टक पाइपलाइन रहनेछ।
आयोजनाबाट उत्पादन हुने विद्युत् घरापदेखि दाना क्षेत्रसम्म २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ। हालसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ भने बेलिब्रिज जडानको तयारी भइरहेको छ।
करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ग्लोबल आईएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहनेछ। प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर लगानीको अवसर समेत दिइएको छ।
आयोजना शुभारम्भ धार्मिक विधिअनुसार पूजाआजा गरेर गरिएको हो। स्थानीय जनप्रतिनिधि, प्रवर्द्धक कम्पनी, निर्माण कम्पनी तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा निर्माण कार्य सुरु गरिएको बताइएको छ।
अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले यो आयोजना म्याग्दी जिल्लाकै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको बताएका छन्।