बागलुङ, असार ८ गते । पश्चिम बागलुङको बडिगाड गाउँपालिकाले उत्कृष्ट उद्यमीलाई नगदसहित सम्मान गरेको छ। गाउँपालिकाले गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्थासँगको सहकार्यमा सञ्चालन गरेको ‘बुद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत उत्कृष्ट उद्यमीलाई सम्मान गरेको हो।
कार्यक्रमअन्तर्गत व्यावसायिक किवी खेती गर्दै आउनुभएका बडिगाड–७ का जीवबहादुर खत्री उत्कृष्ट उद्यमी घोषित हुँदै एक लाख ५० हजार रुपियाँ नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ। निवेदनका आधारमा छनोट गरिएका ९१ उद्यमीबीच प्रतिस्पर्धा गराउँदा उत्कृष्ट ४०, २० र अन्तिम १० जनाको प्रतिस्पर्धापछि खत्री उत्कृष्ट उद्यमी बन्न सफल हुनुभएको हो।
खत्रीले तीन वर्ष दुबईमा वैदेशिक रोजगारी गर्नुभएको थियो। नेपाल फर्किएपछि कोरोना महामारीका कारण पुनः विदेश जान नसकेपछि उहाँले आफ्नै गाउँमा किवी खेती सुरु गर्नुभएको हो। किवीसँगै उहाँले अकबरे खुर्सानीको व्यावसायिक खेतीसमेत गर्दै आउनुभएको छ।
एक रोपनी क्षेत्रफलबाट एक लाख रुपियाँ लगानीमा सुरु भएको उहाँको व्यवसायमा हाल १६ लाख रुपियाँ लगानी पुगेको छ। ४० रोपनी क्षेत्रफलमा किवी खेती विस्तार गर्नुभएका खत्रीले खर्च कटाएर वार्षिक १५ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको बताउनुभयो।
दायित्व संस्था बडिगाडका फिल्ड अफिसर लक्ष्मी विश्वकर्माका अनुसार उक्त कार्यक्रम गण्डकी प्रदेश सरकारको ४० लाख, बडिगाड गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख रुपियाँको लागत साझेदारीमा सञ्चालन गरिएको हो।
कार्यक्रममा सहभागी अन्य उद्यमीलाई पनि विभिन्न चरणमा नगदसहित प्रोत्साहन गरिएको थियो। थप नौ जना उद्यमीलाई जनही एक लाख रुपियाँका दरले पुरस्कार प्रदान गरिएको जनाइएको छ।
पुरस्कार वितरण कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले केही गर्ने इच्छाशक्ति भएका व्यक्तिका लागि देशमै प्रशस्त सम्भावना रहेको बताउनुभयो। वैदेशिक रोजगारी त्यागेर आफ्नै गाउँमा उद्यम गर्दै सफल भएका खत्रीले इच्छाशक्ति भए विदेश नगई पनि स्वदेशमै आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ थियो।
गाउँपालिका उपाध्यक्ष भीमसेन वनले गण्डकी प्रदेशका पाँच स्थानीय तहमा मात्र सञ्चालन गरिएको उद्यमी छनोट कार्यक्रमको मुख्य उद्देश्य उद्यमीलाई प्रोत्साहन गर्दै गाउँमै रोजगारी सिर्जना गर्नु रहेको बताउनुभयो।